चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूले बताएका छन् ।
डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले मेची अस्पताल भद्रपुर सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन् ।
हल्दीबारीका पुष्पराज निरौलार आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरीबीच उपचारकै विषयमा विवाद हुँदा हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
श्रीमती कञ्चनलाई उपचारका लागि आइतबार बेलुका मेची अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा ४५ मिनेट पछि मात्र केवल कपुरी आएको निरौलाको भनाइ छ ।

त्यही विषयलाई लिएर डाक्टर कपुरीसँग केही भनाभनकै क्रममा उनले ‘अवाञ्छित शब्द’ भनेपछि सुरुमा हात हालेको निरौलाले स्वीकारे ।
डाक्टरले पनि हात हालेपछि यस्तो समस्या आएको उनको भनाइ छ । अस्पतालभित्र डाक्टरमाथि हात हाल्नु गल्ती भएकाले स्वीकार गरेको उनले बताए । तर‚ एकजनाको गल्तीका कारण सम्पूर्ण बिरामीले सेवाबाट बञ्चित गराउनु नहुने उनको भनाइ छ ।
घटनाको विषयलाई लिएर अस्पतालमा मेडिकल अधिकृतहरूसँग सोमबार बिहान छलफल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा टंकप्रसाद बाह्रकोटीले बताए ।
मेडिकल अधिकृतहरू विरोधमा उत्रिएपछि अस्पतालको सबै सेवा ठप्प भएको उनको भनाइ छ । दोषीलाई कारबाही नभएसम्म सेवा नदिने अडान रहेको उनले बताए ।
घटनाको विषयलाइ लिएर चिकित्सकले विज्ञप्तिसमेत जारी गरेका छन् । शान्तिपूर्ण रुपमा अस्पतालमा विरोध जनाउँदै दोषीलाई कानुनी कारबाही नभएसम्म विरोध जारी रहने विज्ञप्तिमा उल्लेख छ ।
छलफलपछि डा. कपुरीलगायत केही मेडिकल अधिकृतहरू जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिन गएको बुझिएको छ ।