झापा/ आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारकालागि मेची अस्पतालको आकस्मिक कक्षमा गएका थिए । आकस्मिक कक्षमा कार्यरत डा. केवल कपुरी र पुष्पराजबिच उपचारकै विषयमा विवाद भएको थियो । सोही विवादको क्रममा दुवै पक्षबिच हात हालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन् । अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेको हुन् ।

मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका छन ।

घटनाको विषयलाई लिएर अस्पतालमा मेडिकल अधिकृतहरूसँग बिहान छलफल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बाह्रकोटीले जानकारी दिएका छन् ।

छलफलपछि डा. केवल कपुरीलगायत केही मेडिकल अधिकृतहरू जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिन गएको उनको भनाइ छ । यता बिरामीका आफन्त निरौलाले भने भनाभनका क्रममा डा. केवलले आफूलाई ‘खाते’ भनेकाले हात हालेको स्वीकार गरेका छन् ।

चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान छ ।

डाक्टरमाथि बिरामीको आफन्त पुष्पराजले हातपात गरेको भन्दै अस्पतालका सम्पूर्ण मेडिकल अधिकृतहरूले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका थिए ।