विराटनगर। ढिलो गरी विराटनगरस्थित कोशी अस्पतालमा अक्सिजन प्लाण्ट जडान गरिएको छ । सम्झौता गरेको भन्दा तीन महिना ढिलो गरी कोशीमा अक्सिजन प्लाण्ट आइतबार जडान गरिएको हो ।
गत मङ्सिरमा सम्झौता भई वैशाख २५ गतेभित्र कोशी अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने समझदारी भएको थियो । तर, सम्झौता अवधि सकिएर तीन महिना ढिलो गरी अक्सिजन प्लाण्ट जडान भएको छ । दोस्रो लहरको सङ्क्रमण तीव्र रूपमा फैलिएको बेला अस्पतालमा अत्यधिक अक्सिजनको माग थियो ।
सङ्क्रमण दर घट्दै गएपछि निर्माण कम्पनीले सम्झौता अवधि सकिएको तीन महिना ढिलो गरी जडान गरिएको प्लाण्टबाट अक्सिजन एक सातापछि उत्पादन हुनेछ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका–नेपाल मेडिकल फाउण्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरमा अक्सिजन प्लाण्ट निर्माण भएको हो ।
जडान गरिएको प्लाण्टबाट एक साताभित्र अक्सिजन उत्पादन हुने निर्माण कम्पनी डाइनोक्यामका एमडी विज्ञान अर्यालले जानकारी दिए । अक्सिजन उत्पादन गर्ने उपकरण ढिलो गरी आएकोले कोशीमा अक्सिजन प्लाण्ट जडान गर्न ढिलाइ भएको उनले बताए । ‘अक्सिजन उत्पादन गर्ने उपकरण स्लोभाकिया भन्ने देशबाट आउन नै समय लाग्यो । भारतको कलकत्ता आइपुगे पनि केही समय लाग्यो’ उनले भने, ‘शुक्रबार कोशी अस्पतालमा उपकरणहरू सबै आयो । चाँडै परीक्षण पूरा गरी एक साताभित्रै उत्पादन सुरु हुनेछ ।’

हाल जडान भएको अक्सिजन प्लाण्टबाट दैनिक ९० देखि १ सय १० सिलिण्डर अक्सिजन उत्पादन गर्ने बताइएको छ । अहिले कोशीमा १ सय ५० अक्सिजन सिलिण्डरको माग रहेको अस्पतालका सुपरिटेण्डेण्ट (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । ‘तीव्र रूपमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिँदा दैनिक ३ सय ५० सिलिण्डरको माग रहेको थियो । अहिले सङ्क्रमण दर घट्दै जाँदा अक्सिजन सिलिण्डरको माग पनि घट्दै गएको छ’ मेसु दासले भने, ‘कोशीको अक्सिजन प्लाण्टबाट अक्सिजन उत्पादन भएपछि अस्पताललाई राहत हुनेछ ।’
अबको एक सातापछि कोशी अस्पतालले आफ्नै प्लाण्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा खपत गर्ने मेसु दाले जानकारी दिए । ‘अक्सिजन प्लाण्टमा उपकरणहरू जडान भइसकेको छ । अब परीक्षण गर्न बाँकी रहेको छ । सम्भवतः आउँदो शुक्रबारदेखि नियमित रूपमा अक्सिजन उत्पादन हुनेछ ।’