धरान। धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार ‘प्रवीण’ राई वडाध्यक्षमा निर्वाचित भएपछि चीन भ्रमणमा गए । त्यहाँ घुम्ने क्रममा पार्क क्षेत्रमा बूढाबूढी तथा केटाकेटीका लागि खुल्ला व्यायामशाला देखे । त्यो देखेपछि आफ्नो वडामा पनि त्यस्तै प्रकारको व्यायामशाला खोल्ने सोच बनाए ।

तीन वर्ष अघिदेखि बनाएको उनको योजनाले बल्ल मूर्त रूप लिएको छ । २२ लाख रुपैयाँको लगानीमा धरान–१८ शिवमार्गमा खुल्ला व्यायामशाला सञ्चालनमा ल्याएका हुन् । वडाध्यक्ष राईले भने, ‘विदेश घुम्दा देखेको थिएँ, आफ्नो वडामा पनि त्यस्तै केही बनाउन सकिन्छ कि भनेर सोचियो । तर, वडामा सार्वजनिक जग्गा प्रशस्त नभएपछि शिवमार्ग त्यसै खेर गइरहेको थियो, त्यसैलाई प्रयोगमा ल्याइयो ।’ वडाध्यक्ष राईका अनुसार शिवमार्ग क्षेत्रमा करिब अढाई कठ्ठा जग्गा छ ।

जहाँ खुल्ला व्यायामशालासँगै केटाकेटीका लागि स्किप बोर्ड र पिङको पनि व्यवस्था गरिएको छ । व्यायामशालालगायतको ठेक्का इटहरीको सुदर्शन कम्पनीले पाएको थियो । नगर विकास कोषबाट प्राप्त रकमले व्यायामशाला निर्माण गरिएको हो । वडाध्यक्ष राई विभिन्न ६ वटा देश घुम्ने क्रममा धेरै देशमा खुल्ला व्यायामशाला देखेका थिए । हरेक देशका पार्क क्षेत्रमा यस्ता व्यायामशाला हुने गरेको उनी बताउँछन् । तर, नेपालमा अभ्यास नभएकाले पनि धरानमा सुरु गरिएको उनी बताउँछन् । उनका अनुसार शिवमार्ग क्षेत्रमा रात्रिबजारको सोच पनि रहेको छ । साँझ ६ बजेदेखि रातको १० बजेसम्म शिवमार्ग क्षेत्रमा रात्रिबजार पनि लगाउने सोच रहेको उनले सुनाए ।

अहिले १८ नम्बर वडामा मात्रै हैन, धरान–१३ मा पनि खुल्ला व्यायामशाला सञ्चालनमा ल्याइएको छ । २१ लाख १६ हजार रुपैयाँको लागतमा व्यायामशाला निर्माण गरिएको हो । वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले मोरङको रङ्गेली नगरपालिकामा पहिलोपटक आफूले खुल्ला व्यायामशाला देखेको बताए ।

‘एक वर्षअघि घुम्न जाँदा रङ्गेली नगरपालिकामा देखेँ, यस्तो त धरानमा पनि निर्माण गर्न सकिन्छ भन्ने लागेर त्यतिबेला सामग्रीका लागि विराटनगरको आनन्द ट्रेडर्ससँग कुरा पनि गरियो’ उनले भने, ‘तर, बजेट नभएकाले एक वर्षअगाडि गर्न सकिएन । बल्ल यो वर्ष सम्पन्न गरियो ।’

खुल्ला व्यायामशाला भएको स्थानमा हङ्कङ बस्दै आएका प्रदीप थापाले ‘लखन थापा हेल्थ पार्क’ को अवधारणा ल्याएका थिए । डिजाइनको काम पनि भएको थियो । तर, मूर्तता नदिइएपछि वडा कार्यालयले पार्क नै बनाउनका लागि प्रदेश १ सरकारबाट १० लाख बजेट प्राप्त गरेको थियो । उक्त बजेटले माटो पुर्ने र पर्खाल लगाउने काम गरेको वडाध्यक्ष काफ्ले बताउँछन् । सोही ठाउँमा अहिले खुल्ला पार्कसँगै व्यायामशाला निर्माण गरिएको छ ।

व्यायामशाला निर्माण गर्न नगरस्तरीय बजेटबाट १५ लाख, नगर प्रमुख कोषबाट साढे ३ लाख र उपभोक्ताबाट २ लाख ६६ हजार रुपैयाँको लगानीमा व्यायामशाला बनाइएको हो । करिब ७ कठ्ठा क्षेत्रफलमा पार्कसहितको खुल्ला व्यायामशाला सञ्चालनमा छ । अझै पनि निर्माणको चरणमै रहेको वडाध्यक्ष काफ्ले बताउँछन् ।

अहिले व्यायामशालामा दैनिक सयौं मानिसहरू व्यायाम गर्नका लागि आइपुग्ने गरेको वडाध्यक्षहरू सुनाउँछन् । वडा कार्यालयहरूले औपचारिक उद्घाटन भने गरेका छैनन् । कोरोना महामारीका कारण पनि उद्घाटन नगरिएको अध्यक्षहरू बताउँछन् । अहिले धरानमा खुल्ला व्यायामशाला निर्माण अन्य वडाले पनि सुरु गरेका छन् । धरान–३ ले पनि माछाभौडीमा व्यायामशाला निर्माण गरिरहेको छ । ३ नम्बर वडाध्यक्ष आशाकुमार श्रेष्ठ भन्छन्, ‘नगरस्तरीय बजेटबाटै हामीले पनि व्यायामशालाका लागि काम गरिरहेका छौं । पन्ध्र दिनअघिबाट काम सुरु भएको छ । अहिले तीन–चारवटा आइटम राखेका छौं ।’

उनका अनुसार ३० लाख रुपैयाँ बजेटबाट व्यायामशालासँगै पार्कको काम धमाधम भइरहेको छ । धरानमा खुल्ला व्यायामशाला मात्रै हैन, निजी लगानीमा खुलेका थुप्रै व्यायामशाला छन् । करिब एक दर्जन व्यायामशाला धरानमा सञ्चालनमा रहेको धरान फिटनेस क्लब सञ्चालनमा ल्याएका कविरभगत प्रधानाङ्गले बताए । उनका अनुसार २०३४ सालभन्दा अगाडि रमेश खनालले लालीगुराँस भन्ने जिम हल खोलेका थिए । त्यसपछि २०३४ सालमा राजभगत प्रधानाङ्गले धरान ज्ञान मन्दिर खोलेको उनी बताउँछन् ।

धरानमा व्यायामशालाको आफ्नै इतिहास छ । सबैभन्दा सुरुमा बडीविल्डर प्रतियोगिता पनि धरानमै भएको इतिहास छ । २०२७ सालमा सम्पन्न मिस्टर धरानको विजेता रमेश खनाल भएका थिए । उनैले व्यायामशालाको अवधारणा ल्याएका थिए । अग्रज पत्रकार गिरिराज आचार्य भन्छन्, ‘जिम खाना भने पनि जे भने पनि खनालकै थियो । अहिलेको जस्तो आधुनिक मेसिनहरू थिएनन्, अल इन अल खनाल नै थिए । पहिलो बडीविल्डर पनि उनी नै हुन् ।’