स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छन्, जिम जान्छन्, जिउ मर्काइमर्काई ‘डान्स’ गर्छन् तै पनि भनेजस्तो हुँदैन । एरोबिक, ब्याडमिन्टन, कराँतेजस्ता खेल पनि मान्छेले स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई सामान्य फाइदा पुर्याए पनि पूर्णता भने दिएको हुँदैन ।

मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन ।

शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अरू व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरूका लागि निम्न बुँदा उपयोगी साबित हुन्छन् ।

१) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन । २) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

३) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

४) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।

५) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।

६) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।

७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।