वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्नका लागि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठन गरेको उच्चस्तरीय कार्यदलमा प्रतिष्ठानका प्राध्यापक सिनेटर सन्जीव शर्मा नियुक्त भएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले हिजो बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय उच्चस्तरीय अध्ययन कार्यदल गठन गरेका थिए ।
कार्यदलको बैठक आइतबार बस्ने र सोमबार धरान आउने भएको छ ।
कार्यदलका सदस्य सचिव एवं प्रवक्तासमेत रहेका सहसचिव शंकर नेपालका अनुसार सिनेटर प्राध्यापक डा.सञ्जिव शर्मालाई सदस्यकोरुपमा राखिएको छ । उनले भने,‘सिनेटर प्राध्यपककोरुपमा डा.सञ्जिव शर्मा कार्यदलको सदस्यमा छन् । पत्र पनि इमेल गरेर पठाइसकेका छौं, सम्भवत उनले पाइसकेको हुनुपर्ने हो ।’

कार्यदलमा को को छन् सदस्य ?
कार्यदलको संयोजक डा.अर्याल मन्त्रीपरिषद, संवैधानिक निकाय र आर्थिक तथा पुर्वाधार विकास हेर्ने सहसचिव हुन् ।
यसैगरि, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल, सार्वजनिक खरीद अनुगमन कार्यालयबाट सहसचिव विष्णु कोइराला र प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जिव शर्मा कार्यदल सदस्य छन् ।
यस्तै, कार्यदलमा शिक्षा मन्त्रालयका सहसचिव डा.बैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी, कानुन मन्त्रालयका सहसचिव शुशिल कोइराला पनि सदस्य छन् । खरीद अनुगमन कार्यालयका सहसचिव कोइराला धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकोरुपमा कार्य गरिसकेका सहसचिव हुन् ।
कार्यदलको सदस्य सचिव नेपाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सामाजिक विकास तथा रुपान्तरण महाशाखाका सहसचिव हुन् ।