कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ।
जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो ।
समन्वय एकाइको तयारी हेर्दा केही ढिला हुनसक्ने आकलन गरिएको छ तर अब बोर्डले समन्वय एकाइलाई विद्यार्थीको विवरण पठाउन म्याद थप भने नगर्ने भएको छ । म्याद थप हुँदा विवरण तयार भएका जिल्लाले पनि विवरण नपठाउने भएकाले केही दिन ढिला भए पनि म्याद थप नहुने जनाइएको छ । सबै विवरण आएपछि बार्डले विद्यार्थीको विवरण अद्यावधिक गरेर अन्तिम नतिजा प्रकाशित गर्नेछ ।
बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा प्रकाशन गर्ने आफूहरूको तयारी रहेको जानकारी दिए। यसका लागि ७७ वटै जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइबाट विद्यार्थीको विवरण आउनुपर्ने उनको भनाइ छ । समन्वय एकाइलाई बोर्डले असार मसान्तसम्म विवरण पठाउन समयसीमा दिए पनि हालसम्म एउटा जिल्लाबाट मात्रै विवरण आएको र त्यो पनि अमिल्दो भएका कारण फर्काइएको जानकारी बोर्डले दिएको छ ।