विराटनगर / प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई ‘फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनलाइजर मेसिन’ हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई उक्त मेसिन हस्तान्तरण गरिन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन खोटाङ अस्पताललाई हस्तान्तरण गरिएको हो । 

सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवश्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताइन । खोटाङ अस्पतालका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउने बताए । 

जिल्ला अस्पतालमा अत्यधिक विरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो ।

सो मेसिनले एक घण्टामा साढे ३ सय नमुना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले जानकारी दिए । 

एकै पटकमा ७२ वटा नमूनाहरू राख्न सकिने बताए । फुल्ली अटोमेटिक बायोकेमेस्ट्री एनालाइजर मेसिनको बजार मूल्य करिब ३५ लाख सम्म पर्ने साहको भनाइ छ ।