धरान/ कोरोना संक्रमण पुर्णरुपमा नियन्त्रण आउन नसके पछि यसबर्ष पनि धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम धार्मिक मेला नलाग्ने भएको छ ।
कोरोना संक्रमणको कारण बोलबम धार्मिक मेला रोकिएको यो दोस्रो बर्ष हो । गत बर्ष पनि कोरोना संक्रमणको पहिलो लहरमा बोलबम मेला रोकिएको थियो । अहिले पनि मन्दिर गएको बैशाख १७ गतेदेखि सर्वसाधारणहरुको लागि बन्द नै छ । प्रत्येक बर्ष साउनमा शिवालयहरुमा जल चढाउने भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । धरानको पिण्डेश्वर मन्दिरमा एक महिनामा नै लाखौं भक्तजनहरु आउने गर्छन् । कोशी नदीबाट जल ल्याएर शिवलिंगमा चढाउन नेपालबाट मात्र नभै, भारत र भुटानबाट समेत गेरु वस्त्रधारी भक्तजनहरु आउने गर्छन् ।
निषेधाज्ञा खुकुलो हुँदै गएपनि धरानमा समेत संक्रमणको दर उच्च नै रहेपछि पिण्डेश्वर बाबाधाम समितिले यसपाली पनि बोलबम धार्मिक मेला नलगाउने जनाएको हो । बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार बोलबममा एकै दिन हजारौं भक्तजनहरु आउने र दुरी कायम गर्न नसकिने, पानीले भिजिने भएकोले मेला गर्नु स्वास्थ्यको हिसाबले जोखिमपुर्ण हो । ‘स्वास्थ्य नै ठुलो कुरा हो, ज्यान बाँचे आउदा बर्षहरुमा जल चढाउन पाइन्छ,’उनले भने,‘धरानमा पनि कोरोना कम भएको छैन, कताबाट कस्तो मान्छे आउछ भनेर थाहै पनि पाइदैन, त्यसैले मेला लगाउनु ज्यादै जोखिम नै हुन्छ ।’