वराहक्षेत्र नगरपालिकाले ५ शय्याको अस्थायी कोभिड अस्पताल उद्घाटन गरेको छ । नगर प्रमुख निलम खनालले औपचारिक कार्यक्रमका बीच कोभिड अस्पतालको उद्घाटन गरे ।
वराहक्षेत्र ३ स्थित नडाहामा निर्माण भएको कोभिड अस्पताल अक्सिजन सिलिन्डरसहितको अस्पताल भएको नगर प्रमुख खनालले बताए । सानो आकारमा भए पनि स्वास्थ्य क्षेत्रमा वराहक्षेत्र आत्मनिर्भर हुनेतर्फ अघि बढेको उनको भनाइ छ ।
कोभिड अस्पतालले राम्रो उद्देश्य बोकेर आएको बताउँदै नगर प्रमुख खनालले नगरवासी, जनप्रतिनिधिको हिम्मतका कारण अस्पताल निर्माण भएको बताए । स्वास्थ्यकर्मीहरुको सहयोगले अन्य स्थानीय तहभन्दा स्वास्थ्य क्षेत्रमा उल्लेखीय काम गर्ने दिशामा अघि बढेको नगर प्रमुख खनालले बताए ।
हाइवेमा नजिक रहेको, ठूला अस्पतालसम्म पुग्न सहज रहेको अवस्थामा कोभिड अस्पतालले प्रभावकारी भूमिका निर्वाह गर्ने वडा नं. ३ का वडाध्यक्ष रुद्र दाहालले बताए । नडाहा चोकमा स्थानीय जनताको लगानीमा वडा कार्यालय बनेपछि सरकारले विनियोजन गरेको रकमबाट निर्माण भएको भवनलाई अस्थायी कोभिड अस्पतालका रुपमा वराहक्षेत्र नगरपालिकाले विकास गरेको हो ।

स्थानीय पनुलाल राजधामी र सनुलाल राजधामीले दान गरेको ६ कट्ठा जग्गामा भवन निर्माण भएको छ । ६ कोठा, ट्वाइलेट बाथरुम, सभा हल र कम्पाउण्ड वालसमेत ८१ लाख ३९ हजार ३ सय २५ रुपैयाँ ४२ पैसाको लागतमा वराहक्षेत्र ३ नडाहा भानुचोकमा भवन निर्माण भएको हो ।
अस्पतालमा एमबीबीएस डाक्टर एक जना, दुई स्वास्थ्यकर्मी र एक जना सहयोगले सेवा दिने डाक्टर सुलभ श्रेष्ठले जानकारी दिए ।