धरान/ धरान उपमहानगरले ‘धरान उत्सव’ मनाउने भएको छ ।

धरान स्थापनाको एक सय ९ औं वर्ष प्रवेशको अवसरमा धरान उत्सवसँगै धरान ‘डे’ पनि मनाउन लागेको हो । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पुस १८ गतेदेखि २० गतेसम्म उत्सव तथा डे मनाउने तयारी गरेको आइतबार उपमहानगरले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

उत्सवमा ९० वटा विभिन्न सङ्घ संस्थाका स्टल रहनेछन् । नगर प्रमुख तिलक राईका अनुसार स्टलमा शैक्षिक, स्वास्थ्य, चित्रकला, फोटो, साहसिक खेलकुद, जातीय खानालगायतका प्रदर्शनी रहनेछन् । त्यस्तै स्थानीय उत्पादनहरूलाई पनि प्राथमिकता दिइने भएको छ । त्यसक्रममा जातीय सांस्कृतिक कार्यक्रम र खेलुकद कार्यक्रम पनि रहने जनाइएको छ ।

धरानका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरिने भएको छ । उत्सवमा वरिष्ठ गायक दीप श्रेष्ठ, सविन राई, राजेशपायल राईलगायतका कलाकारहरूले गीतसङ्गीतमार्फत् मनोरञ्जन गराउने भएका छन् । धरान बजारको रुपमा वि.सं. १९५७ सालमा स्थापित भएको हो ।