काठमाडौँ/प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ ।
आजै साँझसम्म हुने सो कार्यक्रममा मानिसलाई सिंगारिएर स्थानीय नागवहालबाट विभिन्न टोलमा परिक्रमा गराई पुनः नागवहालमा आउने व्यवस्था मिलाइएको छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिको आत्माले शान्ति प्राप्त गरी स्वर्ग (सुखावती भुवन) मा बास गर्ने सम्बन्धित धर्मावलम्बीको विश्वास छ ।
उक्त पर्वका क्रममा ससाना बालबालिका तथा वयस्कलाई समेत आआफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ । सोही क्रममा विभिन्न टोलटोलमा भएका बौद्ध सम्पदा, चैत्य तथा वहा वहीमा दीप प्रज्वलन गरिन्छ ।
यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा रहेको स्थानीयवासी रवीनमुनि बज्रचार्यले जानकारी दिए ।

मृतकका आफन्तले पितृको स्मृतिमा निकालिने मतया पर्वमा सहभागी भएमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुने बताइएको छ । रासस