धरान/भिडियो स्टिूमिङको सामाजिक प्लेटफर्म टिकटकले ‘फ्यामिली पेयरिङ’ नामक नयाँ फिचर्स सेवा सुरु गरेको छ ।
यो फिचर्सले किशोरकिशोरीको सुरक्षामा ध्यान दिने कम्पनीले जनाएको छ । अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर डिजिटल गतिविधि नियन्त्रण राख्न सक्ने दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले बताए ।
नयाँ फिचर्स सेवाबारे काठमाडौँको मेरिअट होटलमा सम्पन्न लञ्च कार्यक्रममा भने, ‘नयाँ फिचर्सले १८ वर्षभन्दा मुनिका केटाकेटीहरूको दैनिक गतिविधिलाई अभिभावकहरूले अवलोकन गर्न सक्नेछन् ।’
टिकटकले उक्त फिचर्स ल्याउनुको प्रमुख उद्देश्य भनेको केटाकेटीलाई जिम्मेवार र सुरक्षित अनलाइन बनाउनु रहेको जनाएको छ । ‘फ्यामिली पेयरिङ’ फिचर्समा अभिभावकहरूले आफ्ना बालबालिकाको दैनिक ‘स्क्रिन’ समय सीमित गर्न, सन्देश पठाउन वा कमेन्ट गर्न नपाउने बनाउन र उमेरअनुसारको मात्रै विषयवस्तु हेर्न पाउने गरी सुविधा रहेको जनाइएको छ ।
कम्पनीले सेफ्टी सुरक्षालाई बढीभन्दा बढी ध्यान दिँदै गएको उनले जानकारी दिए । टिकटकको ‘सेटिङ्स एन्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिङ्क गर्नुपर्ने कार्यक्रममा बताइयो । एकपटक जोडिएपछि भने अभिभावकहरूले छोराछोरीको मोबाइल नचलाइकनै आफ्नै फोनबाट सुरक्षासम्बन्धी सेटिङहरू व्यवस्थापन गर्न सक्ने कम्पनीले जनाएको छ ।
समाजको सुरक्षा प्रमुख प्राथमिकता रहेको कम्पनीले जनाएको छ । यो फिचर्स नेपालका लागि एकदमै उपयुक्त हुने जनाइएको छ ।