धरान । बिरामीलाई आपतकालीन अवस्थामा अस्पताल पुर्याउन प्रयोग गरिने एम्बुलेन्समा गाँजाको कारोबार गरेको आरोपमा एकजनासहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका–६ पिडारीबाट भारतीय नम्बर प्लेट बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सबाट एक सय ८० केजी गाँजा बरामद गरेको हो । प्रहरीलाई शनिबार राति करिब ८ बजेतिर एम्बुलेन्समा गाँजा बोकेर जाँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकली र प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीको संयुक्त टोलीले सडकमा अवरोध सिर्जना गरी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार एम्बुलेन्सलाई जाँच गर्दा कालो प्लाष्टिकभित्र सेतो बोरामा प्याक गरेको अवस्थामा ६ बोरा गाँजा बरामद गरेको हो । ३० केजीका दरका बोराबाट एक सय ८० केजी गाँजासहित एम्बुलेन्स र एम्बुलेन्स चालक सुनसरी वराहक्षेत्र नगरपालिका–४ का २५ वर्षीय श्रीराजकुमार साहलाई पक्राउ गरिएको हो । 

उनलाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको थियो । यस्तै तेल बोक्ने ट्याङ्करबाट पनि प्रहरीले गाँजा बरामद गरेको थियो ।