कोभिड–१९ पश्चात् विश्वस्तरमा आएको आर्थिक मन्दीको मार अहिले पनि यथावत् छ । आर्थिक मन्दीको प्रभाव एक प्रकारले अन्त्य भइसकेको छैन । अझै कति समय लम्बिने हो भन्ने चिन्ता पनि व्याप्त छ । कोरोनासँगै आएको आर्थिक मन्दीको प्रभावले कतिपयको ज्यान लिइसकेको छ भने कतिपय तनावको अवस्थामा छन् । बैङ्कबाट ऋण लिएकाहरु थप पीडामा छन् । बैङ्कले राष्ट्र बैङ्कको नीति अख्तियार गरिरहेको भन्दै ऋणीलाई चर्को दबाव दिने प्रचलन छ । यसको मारमा अहिले सर्वसाधारण जनता बढेका छन् । बैङ्कहरुको चरित्र एक प्रकारले भन्ने हो भने गाउँघरका साहुको भन्दा बर्बर छ । दुवैको चरित्र चाहिँ उस्तै उस्तै छ । ऋण दिने र चर्को ब्याज असुल्ने परिपाटी चाहिँ साहुको झैँ मिल्छ । साहु चाहिँ विना धितो नै ऋण दिन तयार हुन्छ भने बैङ्क चाहिँ विना धितो केही पनि दिँदैन । साहु एकाध वर्ष पर्खिन सक्छ भने बैङ्क पर्खिन सक्दैन । उसले जुनसुकै हालतमा ऋणीबाट पैसा असुल्ने प्रयत्न गर्छ । विभिन्न नीति, नियमावली, निर्देशिका आदिको जञ्जालमा पारेर ऋणीलाई चर्को दबाव दिन्छ र असुल्नका लागि अनेक हथकण्डा अपनाउँछ । बैङ्ककै कारण पनि कतिपय व्यवसायी, सर्वसाधारणहरुको ज्यान गइसकेको छ । तर बैङ्कको कारण ज्यान गयो भन्ने प्रमाणित हुने अवस्था भने छैन । किनकि नेपालको कानूनले ‘प्रमाण’ लाई सबैभन्दा महत्वपूर्ण मान्दछ । यहाँ भावनाको कुनै कदर हुँदैन । यसकारण पनि अहिलेसम्म कुनै पनि बैङ्क तथा बैङ्कका कर्मचारीमाथि दुरूत्साहन मुद्दा लागेको स्थिति छैन ।
अहिले धेरैले बैङ्कहरुको बदमासीलाई बाहिर ल्याइरहेका छन् । बैङ्कहरुले ऋणीहरुलाई सूचित गर्नका लागि विभिन्न पत्रपत्रिकाहरुमा सूचना निकालेका हुन्छन् । ती सूचनाको बारेमा ऋणीलाई चाहिँ दिने गरेका हुँदैनन् । कतिपय दैनिक कामकाजमा फसेकाहरुलाई त्यसबारेमा ज्ञान नै हुँदैन । पत्रपत्रिका हेर्ने फुर्सद पनि हुँदैन । यसका लागि निश्चित सूचना दिने प्रणाली बैङ्कले विकास गरेको देखिँदैन । नीतिभित्र रहेर काम गरेको देखाएर ऋणीको धितो लिलामी गर्ने प्रचलन व्यापक रुपमा बढेको छ । यसले ऋणीलाई अनेकौँ खालका तनाव दिने गरेको छ । ऋणीहरुलाई कुनै पनि धितो लिलामी गर्नुपूर्व नै हरेक विज्ञापन अर्थात् सूचना निकाल्दाखेरि सूचित गर्ने प्रणालीको विकास गर्न जरूरी छ । त्यो फोनमार्फत् होस् या हुलाकमार्फत् सूचना दिने प्रणालीको विकास गर्नुपर्छ । यसले ऋणीलाई सबै कुरा अगवत हुने वातावरण सिर्जना हुन्छ । राष्ट्र बैङ्कले सो खालको रणनीतिलाई अख्तियार गर्नका लागि सबै बैङ्कमा सर्कुलर गर्न आवश्यक छ । किनकि एउटा ऋणीलाई हरेक कुरा पारदर्शी रुपमा थाहा दिने संयन्त्रको विकास नगर्ने हो भने बैङ्कहरुले पनि बदमासी गरिरहेको पुष्टि हुन्छ । यसका लागि बैङ्कहरुले पनि सतर्कता अपनाउन जरूरी छ । बैङ्क साहुको रुपमा नभई एउटा सहजकर्ताको रुपमा काम गर्नुपर्छ ।
नेपालका बैङ्कहरुमाथि धेरै नै प्रश्नचिह्नहरु उठ्ने गर्दछन् । ऋणीलाई थाहै नदिई जग्गा बिक्री गर्ने गरेको व्यापक जनगुनासो पनि आउने गरेको छ । पछिल्ला दिनहरुमा ऋणीहरुले भनेजसरी मासिक रुपमा बैङ्कको ब्याज तिर्न नसकेको यथार्थ हो तर त्यो यथार्थलाई चिर्नका लागि उनीहरुलाई सोहीअनुसारको सहुलियतको व्यवस्था पनि गरिदिनुपर्छ ता कि बैङ्कहरु सहजकर्ता हुन् भन्ने सोचको विकास होस् । बैङ्कहरुको जुन चरित्र छ । त्यो चरित्रलाई परिवर्तन गर्न आवश्यक छ । अहिलेको अवस्था आर्थिक सङ्क्रमणकालको अवस्था हो । यो अवस्थामा सबै ऋणीहरुलाई ऋण तिर्दा केही न केही सहुलियतहरु दिएर अगाडि बढ्नुपर्छ । अहिलेको मूल प्रश्न भनेको बैङ्कहरुले ऋणीलाई चाहिँदो खालको सहयोग गर्नु हो । त्यो सहयोग भरपर्दो होस् । उनीहरुले पनि बैङ्क मित्रवत् व्यवहार गर्न सकून् । यस्तो परिस्थिति सिर्जना नहुने हो भने बैङ्क र साहुमा खासै अन्तर हुँदैन । अन्ततः दुवैको चरित्र एकनासको देखिन्छ । यसतर्फ बैङ्क मात्रै हैन, राष्ट्र बैङ्कले पनि नीति बनाउँदा ध्यान दिओस् ।